थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो


जेठ ९ गते, काठमाण्डौ
आजै थप २० जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टिभएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुगेको छ । पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन्। डडेलधुराको पराशुराम १० का २८ वर्षीय एक पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
बाँकेमा १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुष हुन् ।
उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका र बाँकी १३ जना नरैनापुरका बासिन्दा हुन् । मोरङको रतुवामाई २ का एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्।