विमानस्थल अध्यागमनमा गृहमन्त्रीको अनुगमन, थप कर्मचारी पठाइने

पुस २, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको बेथिति र कर्मचारी अभावबारे मंगलबार रातोपाटीले समाचार प्रकाशन गरेपछि बुधबार बिहान सरकारी अधिकारीहरुले विमानस्थल अध्यागमन कार्यालयको अनुगमन गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालगायतका अधिकारी अध्यागमनको निरीक्षणमा पुगेका हुन् ।

अध्यागमन कार्यालयमा कर्मचारी अभावले पारेको असर र घन्टौँ लाइनमा बस्नुपरेको बारे रातोपाटीले मंगलबार समाचार प्रकाशन गरेको थियो ।

१ सय ३६ जना अधिकृतहरुको दरबन्दी रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयमा जम्मा ९४ जना मात्रै अधिकृत काममा रहेको र जनशक्ति अभावका कारण आगमन तथा प्रस्थानका लागि सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपरेको समाचार प्रकाशन भएलगत्तै गृहमन्त्रीसहितको टोली बुधबार बिहान अध्यागमन कार्यालयको निरीक्षणमा निस्किएका हुन् ।

निरीक्षणका क्रममा अध्यागमन सुधारका निम्ति भएका कामबारे गृहमन्त्रीले अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलबाट ब्रिफिङ लिएका थिए ।

अध्यागमन सुधारको योजना अनुसार अहिले अध्यागमन कार्यालयमा अत्याधुनिक प्रविधियुक्त कम्प्युटर, नेपाली पोर्ट नामक तथ्यांक राख्ने डाटाबेस, पासपोर्टको स्क्यानर आदि वस्तुको व्यवस्था गरिँदै छ । अबको केही समयमा नै आगमनतर्फ २२ वटा र प्रस्थानतर्फ १५ वटा गरी कुल ३७ वटा डेस्कको सञ्चालन हुनेछ । यही विषय पौडेलले गृहमन्त्रीलगायतका अधिकारीलाई जानकारी गराएका थिए ।

पहिले म्यानुअल अर्थात् जाँचपास भएपछि आफै जान सकिने गरी बनाइएको गेटको स्थानमा अब इलेक्ट्रोनिक गेट निर्माण गरिनेछ र चेकजाँच सकिएपछि मात्रै आफै उक्त ढोका खुल्नेछ ।

त्यसैगरी अहिले मात्रै ९४ जनाले काम गर्दै आएको अध्यागमन कार्यालयमा तत्कालै थप जनशक्ति पठाउने पनि गृहमन्त्री थापाले बचन दिएका छन् ।

रातोपाटीमा समाचार प्रकाशन भएलगत्तै मंगलबार साँझ सामान्य प्रशासन मन्त्रालयले २० जना अधिकृतलाई गृह मन्त्रालय मातहत रहि काम गर्नेगरी पठाएको पनि श्रोतले बताएको छ । थप कर्मचारी कहिले पठाइने भन्नेबारे पनि केही बताइएको छैन भने त्यसमा पनि सामान्य प्रशासन मन्त्रालयले पठाएको २० जना सबै अधिकृतलाई गृह मन्त्रालयले अध्यागमन कार्यालयमै खटाउँछ वा अन्यत्र पनि पठाउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलका अनुसार विमानस्थलको पूरै डेस्क सञ्चालन गर्नका लागि एक सिफ्टमै कम्तीमा ४० जना अफिसरको आवश्यकता हुन्छ ।

३७ वटा डेस्कका लागि ३७ जना अफिसर, एकजना डिपार्चर अफिसर र एकजान अराइभल अफिसर तथा एकजना वरिष्ठ अध्यागमन अधिकृतसहित एक सिफ्टमा ४० जना कर्मचारीको आवश्यकता रहेको हुन्छ ।

अबको केही दिनमा नै एअरपोर्ट २१ घण्टा सञ्चालनमा आउने भएकाले अब ३ सिफ्टमै कर्मचारी व्यवस्थापन गर्दा कम्तीमा पनि १ सय २० जना कर्मचारी आवश्यक हुन्छ । साप्ताहिक बिदाको व्यवस्थापन गर्दा अरू थप १५ जना कर्मचारीको आवश्यकता रहन्छ ।

त्यसकारण पनि अध्यागमन कार्यालयका पूरै डेस्क सञ्चालनमा ल्याउने हो भने दरबन्दी अनुसारका सबै कर्मचारी आवश्यक रहेको पौडेल बताउँछन् । तर कर्मचारी अभावका कारण अहिले पूरै डेस्क सञ्चालनमा ल्याउन सकिएको छैन ।

कर्मचारी अभावका कारण अहिले पनि अध्यागमन कार्यालयले चुस्त गतिमा काम गर्न सकिरहेको छैन ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिरहेको छ । जसका कारण यस वर्षको पुसको मध्य अर्थात् जनवरी १ बाट पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

जसको कारण यदि समयमै अध्यागमन कार्यालयमा कर्मचारीको व्यवस्थापन गर्न नसक्ने हो भने नेपाल आउने पर्यटकहरुले अध्यागमन पार गर्न नै २ देखि ३ घण्टा लाग्न सक्छ ।

जसले एकातिर आगमन कक्षमा पर्यटक र आगन्तुकको भीड बढ्छ भने नेपालबारे राम्रो सन्देश पनि नजान सक्ने भएकाले सम्बन्धित निकायले बेलैमा समस्याको समाधान गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस