कोरोना देखिएपनि नफैलिएको कर्णाली प्रदेश सरकारको दावी (विज्ञप्ती सहित)

फिल्को मिसन


जेठ ६,सुर्खेत
कर्णाली प्रदेशमा एक जना व्यक्ति संक्रमित भेटिए पनि समुदायस्तरमा नफैलिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
कर्णाली प्रदेशमा संक्रमण हुन नदिनको लागि रोकथाम तथा नियन्त्रणमा उच्च सतर्कतासहित काम गरिरहेको अवस्थामा देखिएको यो घटना देखिएको सामाजिक विकासमन्त्री दल रावलले बताउनु भयो ।
दैलेख आठविस नगरपालिका–१ निवासी ३५ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमणको पुष्टि भएको र समुदायमा नफैलिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

‘छिमेकी मुलुक भारतबाट आई क्वारेन्टाईनमा राखिएका व्यक्तिमा संक्रमण देखिएको छ ।’ उनले भने,‘व्यक्ति समुदायमा प्रवेश गरि नसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन आवश्यक रहेको छ । थप संक्रमण हुननदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न संक्रमित व्यक्ति, निजका परिवारजन तथा समग्र कर्णालीबासी सचेत हुन जरुरी रहेको सामाजिक विकासमन्त्री रावलले बताए ।

कर्णाली प्रदेशमा कोरोना ९कोभिड–१९० परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरि दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्य सामाजिक विकासमन्त्री रावलले जानकारी दिए । परीक्षणको दायरालाई बढाउन प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तिव्रताका साथ अगाडि बढाइएको छ ।

सरकारकोतर्फबाट सामाजिक विकास मन्त्री दल रावलले जारी गरेको विज्ञप्तीको पुरा पाठ

                                                      प्रेस विज्ञप्ति

कोरोना भाइरस (कोभिड–१९)ले विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकट श्रृजना गरेको छ । यो संकटबाट हाम्रो देश र प्रदेश पनि अछूतो रहन सकेन । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै श्रोत साधनको परिचालन सहित लागिरहेको छ । यस सम्बन्धमा प्रदेश सरकारले गरिरहेका कामकारवाहीहरु वारे विभिन्न माध्यमवाट आम जनसमुदायलाई निरन्तर सुसूचित गरिरहेको र पछिल्लो अवस्थाका सम्बन्धमा निम्नबमोजिम थप स्पष्टताको लागि अनुरोध छ ।

  1. मिति २०७७ जेष्ठ ५ गते कर्णाली प्रदेश अन्तर्गत दैलेखको आठविस नगरपालिका वडा नं. १ निवासी ३५ वर्षीय पुरुषको RT-PCR विधिवाट स्वाव परीक्षण गर्दा (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा संक्रमण हुन नदिने उद्धेश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कता सहित काम गरिरहेको अवस्थामा देखिएको यो घटनाप्रति दुःख प्रकट गर्दछौं । छिमेकी मुलुक भारतवाट आई क्वारेन्टाईनमा राखिएका व्यक्तिमा संक्रमण देखिएको र निज व्यक्ति समुदायमा प्रवेश गरिनसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन तर थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न संक्रमित व्यक्ति, निजका परिवारजन तथा समग्र कर्णालीबासीमा हार्दिक अनुरोध छ ।
  2. कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा RT-PCR मेशिन सहितको प्रयोगशाला स्थापना गरि दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्यसमेत भइरहेको छ । पुनःपुष्टिका लागि Reference Lab मा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम यस प्रदेशमा गरिएको RT-PCR परीक्षणको १० प्रतिशत नेगेटिभ सहित सवै पोजिटिभ स्याम्पलहरु पुनःपुष्टि गर्न नेपालगञ्ज अथवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन अनुरोध गर्दछु ।
  3. स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा ईतिहाँसको अभिलेखीकरण र RDT Test गरी सम्बन्धित स्थानीय तहमा पठाउने, स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाईन अवधि पुरा भएपछि अनिवार्य RT-PCR विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।
  4. कर्णाली प्रदेशमा यसअघि पनि दुवै विधि (RT-PCR र RDT) बाट सन्तोषजनक रुपमा कोरोना परीक्षणको कार्य भइरहेको र स्वदेश तथा विदेशका जोखिमयुक्त क्षेत्रबाट प्रदेश भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तिव्रताका साथ अगाडि बढाइएको छ ।
  5. कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि यो संकटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहनुभएका चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगीहरु, सुरक्षाकर्मी, पत्रकार, स्थानीय प्रशासन, स्थानीय तह तथा धैर्यतापूर्वक बन्दाबन्दी लगायतका विभिन्न कठिनाइहरुको सामना गरिरहनुभएका आम कर्णालीबासीप्रति उच्च सम्मानका साथ विशेष धन्यवाद व्यक्त गर्दछु । साथै अहिलेको परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र संक्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन हार्दिक अपील गर्दछु । धन्यवाद ।
    (………….)
    दल रावल
    मन्त्री,
    सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस