लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक
जेठ ७, काठमाडौंसरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन्। सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्रा्ष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।
सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरेको छ।
नयाँ नक्सामा अन्तर्रा्ष्ट्रिय सीमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरूप प्रदेश र स्थानीय तह पनि समेटिएको छ।
गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए। नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा सार्वजनिक गरेकी हुन।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि माथि कसैले हस्तक्षेप गर्न नपाउने र भारतसँग कूटनीतिक तबरबाट छलफलबाट भूमि फिर्ता गर्ने बताएका थिए। नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।
यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।