जेठ १३,काठमाण्डौं
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ ५ बसेको सर्वदलीय बैठक करिब ३ घण्टाको छलफल पछि सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै आग्रह गरेका छन् ।
अतिक्रमित भूभागसहितको नक्सा जारी गरेसँगै देखिएको समस्या वार्ता र कूटनीति पहलबाट समाधान गर्ने निष्कर्श निकालेको छ ।मंलगबार बसेको सर्वदलीय बैठकको प्रमुख एजेण्डा संविधान संशोधन थियो। भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेपछि संविधान संशोधनलाई लिएर सर्वदलीय बैठक बसेको हो।
संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति बैठकमा सहभागी नेताहरुसँग प्रधानमन्त्री ओलीले विशेष अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
सरकारले जारी गरेको नक्सालाई वैधानिकता दिन संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सर्वदलीय बैठक बसेको हो। उक्त बैठकमा संविधान संशोधनसम्बन्धी एक बुँदे एजेण्डामा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।