कोरोना बारेको तथ्याङ्क सार्वजनिक गर्न ब्राजिललाई विश्व स्वास्थ्य सङ्गठनको आग्रह

फिल्को मिसन

जेठ२७गते,काठमाण्डौं
नोबेल कोरोना भाइरससम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न ब्राजिललाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । कोरोनाका कारण मृतकको वास्तविक सङ्ख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र सङ्क्रमित र मृत्युको तथ्याङ्क सार्वजनिक गर्न छाडेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र सङ्क्रमितको तथ्याङ्क हटाएर पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमित र मृतकको तथ्याङ्क मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरण सार्वजनिक गर्न भनेको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना सङ्क्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस