न्युजिल्याण्ड यति छिट्टै कोरोनामुक्त हुनुका पाँच कारण

फिल्को मिसन

एजेन्सी
जेठ २७, काठमाडौं

टापु राष्ट्र न्युजिल्याण्डका बासिन्दा मंगलबार ब्युँझिदा स्वतन्त्र बनेका थिए। स्वतन्त्र यस अर्थमा कि उनीहरू देशभित्र आफूले चाहेको ठाउँ जान सक्थे। मन परेको मान्छेसँग भेट्न सक्थे। साथीभाइ भेला भएर पार्टीरभोज गर्न सक्थे। चर्च वा मस्जिदमा प्रार्थना गर्न सक्थे। एकअर्कासँग हात मिलाउन सक्थे, अँगालो मार्न सक्थे, चुम्बन गर्न सक्थे।

उनीहरूले ७५ दिनपछि यो स्वतन्त्रता पाएका हुन्। कोरोनाभाइरसबाट संक्रमणमुक्त भएपछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले देशभित्र लगाइएका सबै प्रतिबन्ध सोमबार राति १२ बजेपछि हटाउने घोषणा गरेकी थिइन्।

चार चरणको ७५ दिन लामो लकडाउन सकेर सडकमा निस्कँदा न्युजिल्याण्डवासीले हिँडडुलको स्वतन्त्रतामात्र उपभोग गरेका छैनन्। विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसको नियन्त्रण सम्भव छ भन्ने सन्देश पनि दिएका छन्।

औषधी बनिनसकेको कोरोनाभाइरस नियन्त्रण गर्न सरकार चलाउनेले सनक र हचुवाका आधारमा होइन निकै सुझबुझ ढंगले कदम चाल्नु पर्छ भन्ने पाठ पनि न्युजिल्याण्डले विश्वलाई दिएको छ।

न्युजिल्याण्ड त्यस्तो के गर्‍यो ताकि ७५ दिनमै कोरोनाभाइरसलाई पूर्ण नियन्त्रणमा लियोरु

कोरोनाभाइरसविरूद्ध न्युजिल्याण्डले पाएको सफलतामा मुख्य पाँच वटा कारण छन्।

१। तत्काल कडा लकडाउन

मार्च १५ मा न्युजिल्याण्डमा १०० जनामा कोरोना संक्रमण देखिएको थियो भने कसैको मृत्यु भएको थिएन। त्यतिबेला उसले विदेशीका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। घर फर्कनेलाई १४ दिनको क्वारेन्टिन अनिवार्य बनाएको थियो।

‘हामीले जतिसक्यौ चाँडो एकदमै कडा कदम चाल्नुपर्छ,’ प्रधानमन्त्री अर्डेनले सोही दिन देशवासीलाई सन्देश दिएकी थिइन्।

त्यसको १० दिनपछि न्युजिल्याण्डमा एकदमै कडा लकडाउन लागु गरियो। खाद्यान्न पसल, औषधी, अस्पताल र पेट्रोल पम्पबाहेक सबै कुरा बन्द गरियो। गाडी बाहिर निस्कन दिइएन भने मानिसहरूलाई पनि घरभित्रै बस्न भनियो।

यस्तो अवस्था झन्डै एक महिनासम्म जारी रह्यो। एक महिनापछि बिस्तारै लकडाउन खुकुलो बनाउन थालियो। साढे दुई महिनापछि अहिले अन्तर्राष्ट्रिय सीमा बन्दबाहेक न्युजिल्याण्डको जनजीवन कोरोनाभाइरसपूर्वको अवस्थामा फर्किएको छ।

‘लकडाउनले एकातिर संक्रमण फैलिन दिएन। अर्कातिर उपचार र नियन्त्रणका लागि एकदमै महत्वपूर्ण समय दियो,’ लन्डन स्कुल अफ फार्मेसीकी सिनियर टिचिङ फेलो ओक्साना पाइजिकले भनिन्।

२। आममानिसलाई प्रभावकारी ढंगले नियम बुझाइयो

लकडाउन सुरू हुनुभन्दा केही समयअघि मात्र सरकारले नागरिकहरूलाई मोबाइलमा आपतकालीन सन्देश पठाएको थियो( यो सन्देश सबै न्युजिल्याण्डवासीका लागि हो। हामी तपाईंमा भर परेका छौं। आज राति तपाईं जुन कोठामा बस्नुभएको छ। अब केही हप्ताका लागि तपाईं बस्नुपर्ने ठाउँ त्यही हो।

परिस्थिति थप विकसित हुँदै गएपछि कसरी लडाइँ अघि बढाउने भन्नेमा प्रधानमन्त्री अर्डेन स्पष्ट थिइन्।

‘हामीसँग त्यो अवसर छ जुन अरू देशले हासिल गर्न सकेका छैनन्स् कोरोनाभाइरसको उन्मुलन,’ अप्रिल १६ मा राष्ट्रलाई सम्बोधन गर्दै उनले भनेकी थिइन्।

सरकारले चालेका कदमलाई न्युजिल्याण्डवासीको पूर्ण समर्थन थियो।

‘जनताका अपेक्षा व्यवस्थापन गर्न सरकारले एकदमै राम्रो काम गरिरहेको थियो,’ वेलिङटनका एक स्थानीयले सिएनबिसी टेलिभिजनलाई भनेका छन्,‘हामीलाई लकडाउनले संक्रमणमा कस्तो प्रभाव पर्‍यो भन्ने थाहा पाउन दुई हप्ता लाग्छ भनिएको थियो। यसले लकडाउनको उद्देश्य बुझ्न र पालना गर्न सहज बनायो।’

लन्डन स्कुल अफ फार्मेसीकी सिनियर टिचिङ फेलो ओक्साना पाइजिक पनि सरकारले आफ्नो सन्देश सही रूपमा प्रस्तुत गरेको ठान्छन्।

‘जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर एकनास पठाइएका सन्देश र प्रधानमन्त्री अर्डेनले दैनिक नागरिकसँग गरेको ब्रिफिङले पनि नागरिकको विश्वास जित्न सघायो,’ उनले भने।

३। व्यापक परीक्षण

गत साता प्रधानमन्त्री अर्डेनले न्युजिल्याण्डसँग दैनिक ८ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने क्षमता भएको बताइन्। कूल जनसंख्याका आधारमा उक्त परीक्षण क्षमता संसारभरिकै उच्चमध्ये हो। न्युजिल्याण्डले हालसम्म २ लाख ९५ हजार मानिसमा कोरोना परीक्षण गरेको छ। यो अंक सानो देखिए पनि न्युजिल्यान्डको ४८ लाख जनसंख्याका लागि ठूलो संख्या हो।

कोभिड(१९ विरूद्धको लडाइँमा सरकारलाई सुझाव सल्लाह दिइरहेको टे पुनाहा मटाटिनीका प्रमुख सउन हेन्डीले भनेका छन्( कडा लकडाउनले कन्ट्याक्ट ट्रेसरहरूलाई संक्रमितसँग को सम्पर्कमा आएको छ र कसलाई आइसोलेसनमा पठाउनु पर्ने हो भन्ने पत्ता लगाउन सजिलो बनाइदियो।

‘विश्व स्वास्थ्य संगठनले दिएको सल्लाहअनुसार व्यापक परीक्षण र बलियो कन्ट्याक्ट ट्रेसिङले मृत्युलाई नियन्त्रण राख्न भूमिका खेले,’ पाइजिकले भनिन्।

४। भौगोलिक अवस्थितिको फाइदा

टापु राष्ट्र हुनुको फाइदाले न्युजिल्याण्डलाई कोरोनाभाइरसविरूद्धको लडाइँमा सहयोग पुग्यो।

अर्को देशसँग जमिनको सीमा जोडिएका देशको तुलनामा न्युजिल्याण्डले आफ्नो देशमा को(को आए भन्ने सहजै थाहा पाउन सक्छ। तुलनात्मक रूपमा न्युजिल्याण्डमा जनघनत्व पनि कम छ। यसको अर्थ मानिसहरू एकअर्कासँग भेटिने मौका कम हुन्छ।

‘टाढाको टाप राष्ट्र, कम जनघनत्व, व्यापक परीक्षण र सीमा बन्द भएकाले कोभिड(१९ विरूद्ध न्युजिल्याण्डले जे सफलता हात पार्‍यो अरू देशमा पनि त्यस्तै गर्न कठिन हुन सक्छ,’ पाइजिकले भनिन्।

तर यसको अर्थ यो होइन कि न्युजिल्याण्ड अरू देशका लागि मानक हुन सक्दैन।

‘न्युजिल्याण्डको सानो जनसंख्या, टापु राष्ट्रको फाइदाका बाबजुद् अरू देशले उसको सफलताबाट चुस्तताका साथ कसरी काम गर्ने भन्ने पाठ सिक्न सक्छन् र सिक्नु पर्छ,’ उनले थपिन्।

५। महामारी निर्देशिकाको अक्षरशस् पालना

न्युजिल्याण्ड सरकारले नयाँ भाइरसको महामारीका लागि बनेका उत्कृष्ट निर्देशिकाहरूको अक्षरशस् पालना गरेको थियो।

‘यो महामारीविरूद्धको लडाइँमा हरेक देशका लागि संक्रमित पत्ता लगाउने, परीक्षण गर्ने, आइसोलेनसमा राख्ने, हरेक संक्रमितलाई ध्यान दिने र उसको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राख्ने कुरा मानक हुनुपर्छ,’ पाइजिकले भनिन्,‘यो नै हरेक देशका लागि कोभिड(१९ को लडाइँविरूद्धको उत्कृष्ट रणनीति हो। यिनै कुरा अपनाएर न्युजिल्याण्डले कोभिड(१९ लाई जितेको हो।’

भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा लिएपछि न्युजिल्याण्डले छिट्टै अर्थतन्त्र पुनर्उत्थान गर्न सक्छ भन्ने सन्देश दिएको छ।

प्रधानमन्त्री अर्डेनलले अब अर्थतन्त्र सामान्य अवस्थाको झन्डै ९६ प्रतिशत चलायमान भएको बताएकी छन्।

‘अब हामी अर्थतन्त्र पुनर्उत्थान गर्नेतर्फ गएका छौं किनकी लेभल(१ को प्रतिबन्ध हुनुको अर्थ हामी नै संसारको सबैभन्दा बढी चलायमान अर्थतन्त्र भएका छौं,’ उनले भनेकी छन्। [जर्मन प्रसारण संस्था डिडब्लुका विवरणहरूमा आधारित]

प्रतिक्रिया दिनुहोस