एसईई परीक्षा खारेज गर्ने तयारी, यसपटक एसईई नहुने

जेठ २९गते,काठमाण्डौं
करिब तीन महिनायताको अन्योलपछि सरकारले यो वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । यसपटक विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ््कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भए पनि एसईई सञ्चालनको जिम्मेवारी विद्यालय तहलाई दिने तयारी भएको छ ।
देशभरिका धेरै विद्यालयमा क्वारेन्टाइन रहेको र परीक्षा सञ्चालन गर्दा अवस्था झन प्रतिकुल हुने भएकाले एसईई परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय प्रमाणित भएर आएपछि आवश्यक कार्यविधि बनाइने र विद्यार्थीको मूल्याङ्कन प्रक्रिया अघि बढ्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यार्थीले तीनवटा त्रैमासिक परीक्षा यसअघि दिइसकेका छन् र तीनवटै परीक्षामा उनीहरूले पाएको अङ्कका आधारमा विद्यालयले स्थानीय सरकारमार्फत राष्ट्रिय परीक्षा बोर्डमा विवरण पठाउनेछ ।
त्यही अङ्कका आधारमा बोर्डले ग्रेडसिट तयार गरेर हरेक विद्यालयमा पठाउने छ । एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो तर चैत ५ गते साँझ कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यो वर्षको परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
शिक्षाविद्हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए । कक्षा ११ र १२ को परीक्षाका विषयमा भने निर्णय भएको छैन । तर त्यसलाई पनि विद्यालय तहको शिक्षा मानिएकाले स्थानिय सरकारकै व्यवस्थापनमा परीक्षा गर्ने सरकारको तयारी छ ।