प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको निशान छाप

फिल्को मिसन

जेठ ३१, २०७७ काठमाडौं
संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्।
शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको हो। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।
प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो। संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमत आवश्यक पर्छ। सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए।
संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची(३ मा नेपालको निशान छाप रहेको छ। उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन। सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।

सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस