ओली र प्रचण्डबीच सहमति जुटेन, दुबै पदबाट राजीनामा दिनुपर्नेे अडान

बिहिवार १ श्रावण, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ ।
ओली, प्रचण्ड र नेपालबीच सहमतिका लागि विभिन्न विकल्पमा छलफल भए पनि कुनै सहमति भने नभएको बालुवाटार स्रोतले जनाएको छ । छलफलको अन्तिमतिर वरिष्ठ नेता नेपाल बाहिरिएका थिए । त्यसको १० मिनेटमा प्रचण्ड पनि निस्किएर हिँडेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएपछि स्थायी कमिटीका ३१ जना सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि नेकपा भित्रको विवाद उत्कर्षमा छ ।
पटक पटक स्थगित गरिएको स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको छ । भोलि बिहानसम्म सहमति हुने सम्भावना देखिएमा बैठक फेरि पनि स्थगित हुन सक्ने एक सचिवालय सदस्यले जानकारी दिए । तर, सहमति नभएमा भने बैठक बस्नुपर्नेमा प्रचण्ड(नेपाल पक्षको जोड छ ।
यसअघि ओली र प्रचण्डबीचका वार्तामा दुवैजनाले आआफ्नै अडान राखेका छन् । एजेण्डागत छलफलसमेत हुन सकेको छैन । आजको वार्तामा एजेण्डागत छलफल गर्ने तयारी छ । आजको त्रिपक्षीय छलफलका आधारमा भोलिको रणनीति बनाइने नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो ।
यसअघि विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएकोमा आजको बैठकमा नेपाल पनि सहभागी रहेका हुन् ।
गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।