आज र भोलि बाढी जोखिम,चार दिन मुलुकभर भारी वर्षाको सम्भावना

आइतबार ४ साउन २०७७
काठमाण्डौ । आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्नेभन्दै सचेत रहन विभागले आग्रह गरेको हो ।
पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसकै प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन सुरु भए यता एक महिनाको अवधिमा बाढी र पहिरोबाट भने एक सय १ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता बाढी र पहिरोबाट सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेख लगायतका जिल्लामा गरी १ सय १ जनाको मृत्यु भएको जनाएको हो । प्राधिकरणका अनुसार हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन्