चितवनमा डाक्टर र नर्ससहित २८ जनामा कोरोना पुष्टि

श्रावण ३२, २०७७आईतबार
चितवनचितवनमा डाक्टर र नर्ससहित एकैदिन २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शनिबार राति भरतपुरस्थित कोभिड(१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो। नयाँ संक्रमित चितवनका २७ र सर्लाहीका एक जना छन्।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा हिजो राति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एकजना बिरामीमा पनि सङ्क्रमण पाइएको छ । हिजो राति ४सय ७४ नमुना परीक्षण गरिएकोमा ४४६ जनाको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ ज्ना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरू २२ देखि ३९ वर्ष उमेर समूहका छन् । सङ्क्रमित हुनेमा चिकित्सक र नर्सहरू समेत छन् ।
यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा सङ्क्रमण देखिएको छ । पुरुषहरू २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षका हुन् । त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टाइनमा छन् । भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीका २९ वर्षीया एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।