नेकपा एमाले निर्वाचन आयोगमा औपचारिकरुपमा दर्ता

फिल्को मिसन

२०७७ असार १७ गते बुधबार प्रकाशित
काठमाडौं /नेकपा एमाले नामको दल निर्वाचनमा आयोगमा औपचारिकरुपमा दर्ता भएको छ । निर्वाचन आयोगले एमालेलाई आज औपचारिकरुपमा दलको मान्यता दिदै दर्ता प्रमाणपत्र प्रदान गरेको छ । बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।
गत असार १४ गते दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेलाई सबै प्रक्रिया पूरा गरेपछि आज आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो । दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।
दल दर्ता प्रमाणपत्र बुझेपछि नवगठित एमाले पार्टीकी अध्यक्ष सन्ध्या तिवारीले अब दलको औपचारिक गतिविधि कोरोना संकट अन्त्य भएपछि आरम्भ गर्ने बताउनु भयो । न्यूज २४ संग कुरा गर्दै उहाँले जननेता मदन भण्डारीको सोंच र विचार बमोजिम नेकपा एमालेलाई अघि बढाउने बताउनुभयो ।
यसैगरी एमालेका महासचिव मनिषकुमार उपाध्यायले अहिले विश्व नै कोभिड १९ बाट आक्रान्त भएको वखत नेपाल पनि अछुतो नरहेकोले दलको तत्कालको कार्यक्रम कोरोनाबाट आम नेपालीलाई सचेत बनाउने रहेको बताउनुभयो ।
नवगठित एमालेको उपाध्यक्षमा भगवती खड्का, सचिवमा प्रदेश १ बाट अस्मिता सुनार, प्रदेश २ बाट दावा लामा, प्रदेश ३ बाट जयराम राउत , प्रदेश ४ बाट खगेन्द्रप्रसाद भुषाल, प्रदेश ५ बाट राधा पुरी, प्रदेश ६ बाट हिराबहादुर बोहरा र प्रदेश ७ बाट ताराबहादुर शाही रहनु भएको छ ।
यस्तै गरी सदस्यहरुमा पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की, विमला विष्ट, आंकाला भेटवाल र जयराम विष्ट रहनु भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस