कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा

२०७७ भदौ ७ गते आइतबार
काठमाडौं । नेपाल भित्र कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् ।
निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ भने १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ ।
गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा प्रमुख जिल्ला अधिकारील निषेधाज्ञाको आदेश जारी गरेको छन् ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।
महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन् ।