यो बर्षमा जुम्लामा स्याउ उत्पादनमा कमि

फिल्को मिसन

२०७७ साल भाद्र १३ गते, शनिबार

खलङ्गा । जुम्लामा यो वर्ष स्याउ नफलेपछि किसान चिन्तित भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यो वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको हो । चन्दननाथ नगरपालिका–१ का लक्ष्मी भण्डारीलाई गतवर्ष आफ्नौ बगौंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएको थियो । योे बर्षमा बगौंचामा स्याउ नफलेको गुनासो गर्नु हुन्छ ।

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान गरिएको छ । कृषि विकास कार्यालयका अनुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन् । स्याउ रोपेको जमिनमा अन्य अन्न उत्पादन हुँदैन ।

कोरोना भाइरसले गर्दा यो वर्ष जुम्ला सदरमुकाम खलङ्गामा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो देखिएको छैन् । स्याउ उत्पादन घट्नु र कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा नै यसको प्रमुख कारण भएको स्थानीवासीको भनाइ छ ।

जुम्लाको कूल खेतीयोग्य ३९ हजार ४ सय ३५ हेक्टर जग्गामध्ये तीन हजार ७ सय हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस