आज देखि रुसमा आम नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन

फिल्को मिसन

एजेन्सी   संसारमै सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन घोषणा गरेको रुसले आजदेखि आम नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन थालेको छ । स्पुतनिक-भी (Sputnik-V)नामक भ्याक्सिन आम नागरिकले आजदेखि लगाउन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरुवाती चरणमा विभिन्न प्रकारका प्रश्न उठे पनि रुसले आफ्नो बचाउ गर्दै भ्याक्सिनको प्रभावकारिताका विषयमा पछि जानकारी दिने जनाएको थियो । यो भ्याक्सिन मस्कोमा सुरुमा ४० हजार मासिनलाई दिन सुरु गरिएको हो । दोस्रो डोज २१ दिनमा दिइनेछ ।

मस्कोमा उपमेयर अनास्तासिया राकोभाले राजधानीमा पहिल्यै केही स्वयंमसेवकलाई दिइएको र अहिले नागरिकलाई दिन थालिएको बताए । यो भ्याक्सिनविरुद्ध विभिन्न देशका २६ वैज्ञानिकले द लसेन्टमा ओपन लेटर लेखेपछि सर्वसाधारणलाई दिन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रमा क्लिनिकल परीक्षण, प्रभावकारिता, परीक्षणका डाटालगायतका विषयमा वैज्ञानिकले प्रश्न उठाएका छन् । वैज्ञानिकले लेखेको पत्र एनरिको बुकी नामका वैज्ञानिकले सार्वजनिक गरेका छन् । यो पत्र मेडिकल जर्नलमा छापिएको एक अध्ययनमा आधारित रहेको र वास्तविक डाटा नभएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख छ ।

भ्याक्सिन बनाउने गामोलिया इन्स्टिच्युटले वैज्ञानिकहरुको आरोपको खण्डन गरेको छ । उपनिर्देशक डेनिस लङगनोभले वैज्ञानिकले लेखेको पत्रमा कुनै आधार नभएको बताएका छन् ।

रुसले मंगलबार पहिलो खेपमा आम नागरिकका लागि भ्याक्सिन बजारमा ल्याएको थियो । भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणमा नपुगेरै बजारमा आएको हो । तेस्रो चरणको परीक्षणले यसको साइड इफेक्ट्स र प्रभावकारिताका विषयमा जानकारी पाउन सकिन्छ ।

तेस्रो चरणको परीक्षणपछि सबै नतिजा ठिक भएमामात्र यसका सबै डाटाहरुको अध्ययन गरेर भ्याक्सिनलाई अन्तर्राष्ट्रियरुपमा मान्यता दिने गरिन्छ । रुसी स्वास्थ्य मन्त्री मिखाइल मरास्कोले ३१ हजार भोलियन्टरमा २६ अगष्टदेखि भ्याक्सिन परीक्षण भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस