रेलवे बिभागले खरिद गरेको रेल नेपाल आइपुग्दै

शुक्रबार २,असोज २०७७
काठमाण्डौ। रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट आज नेपाल आइपुग्दै छ। नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुईवटा ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।
एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज अपरान्हसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि हिजो नै हिंडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।