एकलैटिरुपमा चिनियाँ पक्षले बनायो नौवटा घर नेपालको भुभागमा

आइतवार, ४ असोज, २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँको लाप्चामा चिनियाँ पक्षले नौवटा घर बनाएको छ । दुई देशको सिमाना भन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी नेपाल परार्मश नलिगी भवन बनाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भएको छ। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको बुझिएको छ । अध्यक्ष लामाले नेपाली भूभागमाथि बनेका भवन केका लागि हो त्यो कुरा थाहा नभएको बताए।चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग किन नेपाली भुभागमा घर बनाएको आफूले बुझ्न खोज्दा समर्पकमा नआएको बताए । लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन यसअघि २०६६ सालमा निर्माण भएको थियो ।
उक्त क्षेत्रमा नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन । तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताएका छन । अहिले भवन निर्माण भएको स्थानभन्दा एक किलोमिटर १२ नम्बर सिमा स्तम्भ छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने अहिले सम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए।
पहिला भवन बनाउने बेला लिमीबासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनु भयो ।अर्काको जमिनमाथि भवन बन्नुभन्दा पहिले नाम्खा गाउँपालिकासँग समन्वय हुनुपर्ने तर त्यो हुन नसकेको अध्यक्ष तामाङले गुनासो गर्नु भयो ।
१२ नम्बर सिमा स्तम्भ र नेपाली भुभागमा भवन बनेको जानकामा आएको बताउँदै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले त्यसबारेमा बुझ्न र सिमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको छ । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको छ ।