एसिड छ्याप्नेहरु २० वर्ष जेल सहित तीन अध्यादेश जारी

फिल्को मिसन

सोमाबार १२,असोज २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गर्नुभएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने लगायत अन्य कडा प्रावधान राखिएको छ ।
त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।
तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ।
शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ । तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानूनमा व्यवस्था छ।
आज नै राष्ट्रपतिले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस