लैङ्गिक समानता अहिलेको समाजको महत्वपूर्ण अधिकार : राष्ट्रपति भण्डारी

शनिबार१७,असोज २०७७
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता अहिलेको समाजको महत्वपूर्ण अधिकार भएको बताउनुभएको छ । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव ९बेइजिङ प्लस २५० को अवसरमा अमेरिकाको न्युयोर्कमा आयोजित उच्चस्तरीय बैठकमा भर्चुुअल सम्बोधन गर्नुहुँदै उहाँले आजको यो ऐतिहासिक क्षण महिलामा अन्तरनिहित सबै सम्भावना हासिल गर्ने मार्गमा रहेका अवरोध अन्त्यको सङ्कल्प गर्ने अवसर भएको प्रस्ट पार्नुभयो ।
यस वर्ष ‘सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाआँैं’ भन्ने मूल नाराका साथ बेइजिङ सम्मेलनको २५ औँ वार्षिकोत्सव मनाइँदैछ । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाको समानता र सशक्तीकरणका लागि रूपान्तरणको खाका प्रदान गरेको औँल्याउनुभयो । बेइजिङ घोषणापत्रमा अन्तरनिहित सरोकारका १२ क्षेत्रमा क्रमिक रूपमा प्रगति हुँदै गएको भए पनि ती प्रतिबद्धता पूर्ण रूपमा हासिल हुन अझै समय लाग्ने उहाँले टिप्पणी गर्नुभयो ।
त्यसका लागि समाजमा संरचनागत खाडल तथा चुनौती कायमै रहेको उहाँको स्पष्टोक्ति थियो । कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाएकाले यो महामारीलाई महिलाको प्रगतिको बाधक बन्न दिन नहुनेमा उहाँले जोड दिनुभयो । नेपालले लैङ्गिक मुद्दालाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा संविधान एवं कानुनमा व्यवस्थित गरेको जानकारी राष्ट्रपति भण्डारीले बैठकमा गराउनुभयो ।