वन्यजन्तुको चोरी शिकारी रोक्न निकुञ्जले ड्रोनबाट गस्ती

फिल्को मिसन

शुक्रबार २३,असोज २०७७

डोल्पा । डोल्पाको शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।हिँउदको समयमा हुने चोरी शिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरुको निगरानि राख्ने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ । बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा सङ्कलन निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्र एकाइको संयन्त्रलाई संघीयतानुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाकारी दिए ।

हिँउदको समयमा स्थानीयवासीसमेत करिब छ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेँसी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती सुरु गरिने उनको भनाइ छ । नेपालमै पहिलो पटक तीन हजार ६ सय मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठक बसेको पौडेलको दाबी छ । शे–फोक्सुण्डो राष्टि«य निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस