व्यापारीको जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

शनिबार ८,कार्तिक २०७७
हुम्ला । सिमकोटमा अति संवेदनशील मानिने हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीहरुको जडिबुटी राख्ने भण्डार बनेको छ ।
सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको जडिबुटी ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको क्षेत्रमा व्यापारीहरुको जडिबुटीले भरीभराउ भएको छ ।
सिमकोट विमानस्थलको प्रवेशद्धारको मुल ढोका देखि विमानस्थलको संवेदनशील क्षेत्र सम्म व्यापारीहरुले जडिबुटी थुपार्दा फोहोर समेत बनेको छ ।
विमानस्थलको खाली रहेको सबै क्षेत्रमा व्यापारीले जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने भन्दै विमानस्थलमा थुपारिरहेका छन् । प्रत्येक दिन बिहान सात बजेदेखि दश बजे सम्म हवाई जहाजले उडान भर्नेभएका कारण विमानस्थल क्षेत्रमा घोडा, खच्चड जान पाउँदैनन् भने त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् । जहाजको उडान दशबजे सकिए लगत्तै व्यापारीहरुले प्रवेशद्धारको ढोका क्षेत्र भित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।
संवेदनशील मानिएको सिमकोट विमानस्थलमा व्यापारीहरुले जताततै जडिबुटी थुपारीदिदा लाई आवतजावत गर्न समेत अप्ठ्यारो हुनेगरेको यात्रुहरुले बताउने गरेका छन् ।
व्यवस्थापनको कम्जोरी हुनुका साथै विमानस्थलको जहाज पार्किङ्ग क्षेत्र बाहेक अन्य स्थानमा राख्न पाउने विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनुभयो । नेपालञ्ज विमानस्थलको उदाहरण दिदै जहाज पार्कीङ्ग क्षेत्र, यात्रु चेकजाँच तथा संवेदनशिल क्षेत्रमा कसैले सामाग्राी राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिला देखिनै राख्ने गरेको प्रमुख अधिकारीले बताउनुभयो । हुम्लाका व्यापारीहरुले हालसम्मकै सबैभन्दा धेरै जडिबुटी संकलन गरेका छन् । एक जना ब्यापारीले पाँच सय क्वीन्टलसम्म जडिबुटी खरिद गरेका छन् । संकलन भएको जडिबुटी मध्य दुई हजार क्वीन्टल सदरमुकाम सिमकोट आइपुगेको हुनाले सिमकोट विमानस्थलमा थुपारीएको हो ।
५० देखि ४ सय क्वीन्टलसम्म जडिुबुटी खरिद गर्ने व्यापारीको संख्या २० भन्दा बढी रहेको छ । अझै एक हजार चार सय क्वीन्टल जडिबुटी संकलन भएको क्षेत्रबाट आउने क्रम जारी रहेको छ ।
अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट आएको छ ।
चुवाखोला, लुड्फे रानी सैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यसवर्ष विभागबाट ३४० टन अर्थात तीन हजार चार सय क्वीन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिएको डिभिजन वन कार्यालय श्रोतले जानकारी दिएको छ ।
गर्तवर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्वीन्टल संकलन भई निकासी भएको थियो ।
हाल संकलन कार्य भइरहेको कारण विभागबाट छुट पुर्जी ल्याए पछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी ४५० रुपैयाँसम्म मूल्य तिरेका छन् ।
सदरमुकाम सिमकोटसम्म ढुवानी दर प्रतिकेजी १४० रुपैयाँसम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालय हुम्लाले संकलन पुर्जि दिएको भएता पनि निकासी पुर्जि भने नदिएको बताइएको छ ।