आज विजयादशमी, टीका तथा आर्शिवाद ग्रहण

सोमबार १०,कार्तिक २०७७
काठमाण्डौ । बडादशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाएका छन ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेले बिहान १०ः१९ बजे उत्तम साइतमा टीका लगाएका छन् तर आज साँझ सम्म नै टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले सीआईएनलाइ जानकारी दिनुभयो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओली सहित धर्मपत्नी राधिका शाक्यले पनि आज शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लाउनुभएन ।