कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख १५ हजार नाघ्यो

मंगलबार ११,कार्तिक २०७७
काठमाण्डौ ।नेपालमा हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र कोरोनामुक्त हुनेको सङ्ख्या ४ हजार ५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ सय ६२ पुगेको छ । काठमाडौं उपत्यकामा ८ सय ९४ जना कोरोना सङ्क्रमित भेटिएका छन् । काठमाडौँमा ६ सय ७३, ललितपुरमा १ सय ४६ र भक्तपुरमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल काठमाडौँ जिल्लामा सक्रिय सङ्क्रमित १८ हजार ३ सय ७४, ललितपुरमा २५ सय २० र भक्तपुरमा १५ सय २० जना रहेका छन् । काठमाडौँमा १० हजार ५ सय १ जना, ललितपुरमा २४ सय ९५ जना र भक्तपुरमा १७ सय १९ जना होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।