राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी

फिल्को मिसन

मंगलबार ११,कार्तिक २०७७
काठमाण्डौ । राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा सम्पन्न हुने गरी तयारी भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा पनि विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यस्तो जनगणना पहिलो पटक गर्न लागिएको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् । आउँदो चैत १ देखि जनगणनाका लागि जिल्लास्तरीय कार्यालय स्थापना गर्ने तयारी सुरु भइसकेको छ ।
अनलाइन तालिम दिन सफ्टवेयर डिजाइन भइरहेको छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, विविध आर्थिक मापदण्ड र कार्यविधि लगायतका विधिमा बाँधिएर जनगणना हुँदै छ । पहिलो चरणमा सुपरीवेक्षकले आगामी वैशाख २६ देखि जेठ १५ सम्म जनगणना गर्नेछन् ।
यसले परिवारको अवस्था, घरको सङ्ख्या, तला, कृषि प्रयोगमा रहेको जग्गा, बैङ्क कारोबार, रोजगार तालिम, भूकम्पलगायत क्षतिपछि अनुदानबाट बनेका घरसहितको घरपरिवार सूचीकरण विवरण आउनेछ । दोस्रो चरणमा जेठ २५ देखि असार ८ सम्म गणकले मूल गणना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस