शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा कम्तीमा ७ जनाको मृत्यु

मंगलबार ११,कार्तिक २०७७
एजेन्सी । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा आज कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आज बिहान भएको घटनामा परी अरु एक सय भन्दा धेरै घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिनुभयो । विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना सहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।