विद्युत् कार्यालयद्वारा एक महिनापछि बिलिङ सेवा सुच्चारु

फिल्को मिसन

बुधबार १२,कार्तिक २०७७
हुम्ला । नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि गत असोज १३ गतेदेखि सम्पूर्ण सेवा बन्द गर्दै विद्युत् कार्यालय लाई सिल गरिएको थियो ।
विद्युत् महसुल बुझाउन आउने ग्राहक र उनीहरुका घरमा विद्युत् खपतको बिल काट्न जाँदा कोरोना संक्रमण थप बढ्न सक्ने भएकाले बन्द गरिएको सम्पूर्ण सेवा बुधबार देखि सञ्चालनमा आएको कार्यालय प्रमुख लालबहादुर लम्सालले जानकारी दिए ।
असोज महिनामा तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि उपभोक्ताको बिल नकाटिएको भए पनि भदौमा ग्राहकले तिरेको विद्युत् महसुलका आधारमा विद्युत खपत गरेको शुल्क तिर्नुपर्ने बताएको छ ।
आजदेखि कात्तिक १९ गते एक हप्तासम्म असोज महिनाको महसुल तिर्न आउने ग्राहकलाई जरिवाना नलाग्ने र त्यसपछि जरिवाना लाग्ने भएको विद्युत् कार्यालय सिमकोटले जनाएको छ । प्राधिकरण कार्यालय सिमकोटले सिमकोट र खार्पुनाथ गाउँपालिकाका १ हजार ९ सय घरधुरीलाई उज्यालो प्रदान गर्दै आएको छ ।
कोरोना पोजिटिभ भएका तीन कर्मचारीसहित तिनका सम्पर्कमा आएका अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै सम्पूर्ण सेवा चलाइएको हो ।

प्रतिक्रिया दिनुहोस