धरौटी रकम नलिई कोरोना सङ्क्रमितको उपचार गर्न निर्देशन

फिल्को मिसन

आइतबार १६,कार्तिक २०७७
काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमितको उपचारको लागि धरौटी रकम नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्नेबाट शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको भन्दै अस्पतालहरुलाई धरौटी नलिन निर्देशन दिइसकेको बताउनुभयो ।
आज नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो । उहाँले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सरकारले कोरोना सङ्क्रमितको सशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ । सङ्क्रमितको निशुल्क उपचार गर्दै आएका अस्पतालहरुले सूचना निकाल्दै धरौटी रकम सार्वजनिक गर्न थालेपछि आलोचना भएको थियो ।
सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयं व्यक्तिबाट नै असुल्ने भने पनि खर्च बेहोर्न नसक्ने सङ्क्रमितको भने निशुल्क उपचार गर्ने भनेको छ । सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निशुल्क उपचार गर्ने भनेको छ ।
यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको सङ्ख्या फरक–फरक आएको सम्बन्धमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर काम भइरहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस