भारतीय स्थलसेना प्रमुख नरवणे नेपाल भ्रमणमा

फिल्को मिसन

बुधबार १९,कार्तिक२०७७
काठमाण्डौ । भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आइपुग्नुभएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उहाँ आज नेपाल आउनुभएको हो ।
भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विशेष विमान इन्डियन एयर फोर्स मार्फत काठमाडौं आइपुग्नुभएको हो । भारतीय सेनाध्यक्ष नरवणेको स्वागतमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लगायतका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
भ्रमणदलमा नरवणेकी श्रीमती सहित चार सदस्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यही परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोली भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधान सेनापतिको दर्जा ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस