नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

फिल्को मिसन

सोमबार २४ कार्तिक २०७७
काठमाण्डौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग छलफल गरेको थियो ।
बैठकमा मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई देशले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले नामबारे मात्र निर्णय गरेको उहाँको स्पष्टीकरण थियो ।
तर समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिको निर्णयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदद्वय बिजय सुब्बा र नबराज सिलवालले भने फरक मत राखेका छन् । सरकारले गणतन्त्रविरुद्ध जान खोजेको होइन भनेर प्रस्टीकरण दिइसकेकोले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु नपर्ने उनीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस