हुम्लाको लिमीमा पुग्यो पाँच सय क्वीन्टल चामल

फिल्को मिसन

मंगलबार२५,कार्तिक २०७७

हुम्ला । हिमालपारीको गाउँ लिमीमा दुई पटक गरेर पाँच सय क्वीन्टल चामल आपूर्ति भएको छ । यसबाट केही मात्रामा भए पनि जनजीवन सहज हुने भएको छ ।कोरोना महामारीले उत्तरी नाका हिल्छा र लाप्चाबाट लिमी गाउँमा बन्दोबस्तीका सामानहरू आपूर्ति गर्न गराउन समस्या भएपछि स्थानीयहरू चिन्तित बनेका थिए । हिउँदको ६ महिना अब के गर्ने भन्ने छटपटी समाधान भएको वडा अध्यक्ष पाल्जोर तामांग बताउनुभयो । उहाँले भन्नुभयो केही मात्रामा भए पनि सरकारले हाम्रो आवाजलाई सुनेको छ ।

गत सालको मंसिर महिनादेखि बन्द भएको नाका ११ महिनासम्म पनि नखुल्दा सबै प्रकारका बन्दोबस्तीका सामानहरू पुराङबाट ल्याउने फ्रक्रिया अन्तिम चरणमा पुगेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला र त्यसमा पनि हुम्लाको विकट गाउँ लिमीमा कात्तिकको पहिलो हप्ता पाँच सय क्वीन्टल चामल पुगेकोले केही सजीलो हुने भएको हल्जी गाउँमा स्थानीयबासी खेन्राव तामांगले बताए तर हामीलाई चामलभन्दा मैदा अर्थात् आटा दिएको भए झन राम्रो हुनेथियो उनले भने ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका शाखा प्रमुख रामबहादुर विष्टकाअनुसार अघिल्लो पटक करीब दुई सय क्वीन्टल चामल र पछिल्लो तीन सय क्वीन्टल गरी पाँच सय क्वीन्टल चामल लिमी पुगेको जानकारी दिनुभएको छ ।

खाद्यान्न लगायत विभिन्न प्रकारका कामका लागि सिमकोट पुगेको लिमी तीन गाउँका महिला पुरुषहरू खुशी भएका छन् । अब ६ महिनाका लागि हामीलाई जीउने बाटो खुल्यो भन्दै वडा सदस्य मीगुर तामांगले खुशी व्यक्त गर्नुभयो ।

आफ्नो गाउँ लिमीमा पाँच सय क्वीन्टल चामल पुगेकोले वडा अध्यक्ष पाल्जोर तामांग लगायतको टिमले जिल्लाका सञ्चारकर्मी, राजनीतिक दलहरू, नागरिक समाज, सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीहरू र जनप्रतिनिधिहरूलाई धन्यवाद दिनुभएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ लिमीको तीन गाउँमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड, हुम्लाले पाँच सय क्वीन्टल चामल दिएकोले स्थानीयबासीहरू खुशी भएका छन् ।
कनपपत्रबाट साभार

प्रतिक्रिया दिनुहोस