शुक्रबार२८, कार्तिक २०७७
हुम्ला । अदानचुली गाउँपालिकाले २४० घर धुरीलाई सुधारिएका धुवाँ रहित चुल्हाको निःशुल्क वितरण गरेको छ ।
सरकारले अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवा रहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार यस गाउँपालिकाको वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।
परम्परागत चुल्होका कारण गाउँका महिला दिदि बहिनीहरुको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ’, अध्यक्ष फडेरलाले भन्नुभयो, “परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौं ।’
अदानचुली गाउँपालिका, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा गाउँपालिकाले वडा –१ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरेको अदानचुली १ का वडा अध्यक्ष रग्या थापाले जानकारी दिनुभयो ।
पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई हामीले विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको वडाअध्यक्ष थापाले बताउनुभयो । वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने उहाँले बताउनुभयो ।
चुल्हो वितरण कार्यमा वडालाई सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिएका थापाले गएको आर्थिक वर्षको वडाको चार लाख रकम लगाएको र केही रकम दिन बाँकी रहेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष ०७६।०७७ को वार्षिक कार्यक्रमबाट ५ लाख रकम र खानेपानी, सिंचाई तथा जलस्रोत कार्यालयको साढे ५ लाखको लागतले चुल्हो खरिद र ढुवानी गर्ने काम भएको हो । अपुग रकम चालू आर्थिक वर्षको कार्यक्रमबाट समेत व्यवस्था गर्ने र सबै सरोकारवाला निकायसँगको समन्वयमा वडालाई धुँवारहित मुक्त वडा घोषणा गर्ने जानकारी दिनुभयो ।
प्रति चुल्हो खरिदमा नौं हजार पर्ने भएपनि वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत रु (४५००) अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौंमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली पुर्याएको हो ।
पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुझारिएका धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
हामी सबै वडावासीलाई एकै समयमा पुग्ने गरेर यति धेरै मात्रामा काम भएको भनेको यो पहिलो पटक भएको भन्दै स्थानीय नागरिकले खुशी व्यक्त गरेका हुन् ।
वडाको बजेट अब सबै नागरिकका घरघरमा र भान्सामा पुग्ने का धेरै राम्रो भएको छ महतारागाउँका प्रेमबहादुर महताराले भन्नुभयो, “यसले अदानचुलीका अन्य वडालाई मात्रै नभएर समग्र स्थानीय तहको काम गर्ने निकायलाई समेत राम्रो पाठ पढाने काम गरेको हो” ।