नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती

बिहीबार २७, कार्तिक २०७७
हुम्ला । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।
नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेपाली कांग्रेसका नेता शाही मुख्यरूपमा लागि परेको आरोप लगाउँदै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले मंगलबार रिपोर्ट प्रकाशित गरेपछि उनले विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएका हुन् । नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको पनि उनले बताएका छन् । ‘नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएको सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु, शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक इञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’चीनले लोलुङ्गजोङ्ग क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमासमेत नेपाली भूमि अतिक्रमण गरेको प्रमाणहरू काल्पनिक नभइ तथ्यगत रहेको शाहीले बताएका छन् ।
अन्तर्राष्ट्रिय सीमा सम्बन्धी प्रोटोकल बिपरित चीनले हिल्सास्थित सीमा रेखा ९दश गजा क्षेत्र०मा रहेको ९९२० नम्बरको सीमा स्तम्भको बीच भागमा फलामे गेट र तारबार गरी छेउमा नै आर्मी क्याम खडा गरेको उनको दाबी छ ।
स्थलगत अवलोकनका क्रममा हिल्सा क्षेत्रभन्दा केही टाढा किट क्षेत्रमा रहेका नेपाली सीमा स्तम्भहरू ५९१०,५९२० र ६९१०लाई तारबार गरी आफ्नो भूगोल भित्र पारेको, किट क्षेत्रमा रहेको मितेरी पुलवाट करिव ५०० मिटर नेपाली भूगोलमा बाटो निर्माण गरी नेपाली भूभाग प्रयोग गर्दै आएको पनि प्रमाण भेटिएको उनले बताएका छन् । चीनले सीमा मिचेको ध्यानाकर्षण गरेको १ महिना बित्दासमेत नेपाल सरकारबाट बेवास्ता हुनु र चीनबाट धम्कीपूर्ण भाषा प्रयोग हुनु सरकारको आत्मसमर्णवादी चरित्र भएको उनले टिप्पणी गरेका छन् ।