चीन र १४ अरू देशबीच विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सहमतिमा हस्ताक्षर
सोमबार १,मंसिर २०७७
काठमाण्डौ ।चीन र १४ अरू देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाइ आर्थिक गतिविधि हुने गरेको छ । क्षेत्रीय बृहत् आर्थिक साझेदारी ९आरसेप० सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली सङ्गठन आसियान को वार्षिक सम्मेलनका अवसरमा यस सहमतिमा हस्ताक्षर भएको हो ।सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले गएको आठ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता मानिएको आरसेपले बहुपक्षीय व्यापार प्रणाली आजको आवश्यकता रहेको फेरि पुष्टि गरेको प्रधानमन्त्री फुकले बताउनुभयो । उहाँले यस सम्झौताबाट दिगो व्यापार सहजीकरणलाई सक्षम तुल्याउने, कोभिड–१९ का कारण छिन्नभिन्न भएको आपूर्ति प्रणालीलाई पुनर्जीवित तुल्याउने तथा महामारीपछिको आर्थिक पुनरुत्थानका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य राष्ट्रहरूबीच यसअघि नै न्यून व्यापार कर रहेको अवस्थामा यस सम्झौताले अझ करका दरहरूमा कमी ल्याउने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सन् २०१६ मा सुरु गर्दा ११ सदस्यीय अन्तर प्रशान्त व्यापार सम्झौता परित्याग गर्नुभएको थियो ।
अन्तर प्रशान्त सम्झौतामा आसियानका १० सदस्य राष्ट्रका अलावा यसमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्ड पनि समावेश छन्, जसमा संयुक्त राज्य अमेरिका सदस्य छैन । यस समूहमा सदस्य हुन भारतलाई पनि आमन्त्रण गरिएको छ तर भारतमा यस सम्झौतालाई लिएर विरोध भएपछि भारत पछि हटेको छ ।
पछिल्लो आरसेप सम्झौताको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । करका दरबारेमा जापानका लागि बनाइएको दस्तावेज १ हजार ३३४ पृष्ठको भएकाले समग्र सम्झौताको बारेमा अध्ययन गर्न समय लाग्ने बताइएको छ ।
आसियान सदस्य राष्ट्रहरूमा कम्बोडिया, इण्डोनेसिया, लाओस, म्यान्मार, फिलिपिन्स, थाइल्यान्ड, ब्रुनाई, सिङ्गापुर, मलेसिया र भियतनाम रहेका छन् ।