मुलुकभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

मंसिर २६, २०७७
काठमाण्डौ।नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ । सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको पनि उहाँले बताउनुभयो । गतिविधि आपराधिक हुन थालेपछि सरकारले वि. सं. २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८ सय ९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै जना छुटिसकेका छन् । एक सय ३८ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।