थप एक हजार दुई सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण

मंसिर २६, २०७७
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ३१ हजार ६ सय १ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ ।