विस्तार हुँदै जुम्लाको खलङ्गामा विमानस्थल

शुक्रबार, पौष ०३, २०७७
जुम्ला । जुम्ला जिल्लाको खलङ्गास्थित विमानस्थल विस्तारका लागि काम अघि बढेको छ ।चालू आर्थिक वर्ष ०७७÷७८ देखि बहुवर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तार गरिने जनाइएको छ ।
जुम्ला विमानस्थललाई चालू आवमा विस्तार गर्नका लागि संघीय सरकारले १ करोड बजेट विनियोजन गरेको छ । नेपाल सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन गरिने भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनले भने, “विमानस्थल चालू आवदेखि बहुवर्षीय आयोजनाका रुपमा विमानस्थल विस्तारको काम शुरु भएको छ ।” कर्णालीका हिमाली जिल्लाको विमानस्थलमध्ये जुम्ला विमानस्थल सबैभन्दा सहज विमानस्थल मानिएको छ ।
नेपाल सरकारको सेयर लगानीमा विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण कार्यका लागि बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । चालू आर्थिक वर्षमा चालू खार्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजन भएको पनि जनाएको छ । स्टिल फर्निचार खरिदका लागि २५ हजार, भत्ता ५० हजार, अतिरिक्त पारिश्रमिक खर्च एक लाख ८० हजार, टेलिफोन, टेलेक्स, फ्याक्स, हुलाक तथा इन्टरनेट खर्च ५० हजार रकम विनियोजना भएको हो । त्यसैगरी सरसफाइ सामान खरिदका लागि एक लाख ३० हजार र सरसफाइ ज्यालामा एक ५० हजार छ ।
विस्तृत अध्ययनका लागि यो वर्ष रु १७ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको कार्यालय प्रमुख सिंहले बताए ।