इजरायलमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हरेक दिन ६० हजारलाई खोप दिने लक्ष्य

एजेन्सी

पुस ६ २०७७ सोमबार

एजेन्सी । इजरायलमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट आइतबारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी छ । स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र स्वास्थ्यमन्त्रीले एकसाथ कार्यक्रम सुरु गर्नुभयो । उहाँहरूले पनि फाइजर र बायोटेकले विकास गरेको कोरोना खोप लगाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले सबैलाई खोप लगाउन प्रेरित गर्न आफूले पनि खोप लगाएको प्रतिक्रिया दिनुभएको छ । एक हप्ताअघि इजरायलमा पहिलो चरणको खोप पुगेको थियो । सरकारले हरेक दिन ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

इजरायलले फाइजरसँग ८० लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । इजरायलमा अहिलेसम्म तीन लाख ७३ हजार ६ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ तीन लाख ४६ हजार सङ्क्रमणपछि निको भएका छन् भने तीन हजार ८२ जनाको ज्यान गएको वर्ल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस