माघे सङ्क्रान्ति र माघी पर्व धुमधाकासाथ मनाइँदै

फिल्को मिसन

२०७७माघ १ विहीबार
काठमाण्डौ । आज माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति पर्व । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर यो पर्व मनाइँदैछ । आजको दिन मासको दाल र चामल मिसाएर घ्यू हालेर बनाइएको खिचडी पनि खाने चलन छ । चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरुको भनाइ छ । नरदेवी अस्पतालका डा. जया सत्यालका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ । यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ । उहाँले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो ।
आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस