कोरोना परीक्षण नेपाल भित्र्याउँदै नेपाल सरकार

२०७७माघ १ विहीबार
काठमाण्डौ. । सरकारले कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी सुरु गरेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) ले बनाएको पिसिआर परीक्षण गर्ने क्रिस्पर प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको हो ।
, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा पिसिआर परीक्षण गर्ने प्रविधि नेपाल भित्र्याउन लागेको छ । हिजो अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्यरत वरिष्ठ वैज्ञानिक दिग्विजय महतले पछिल्लो दुई सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो प्रविधिको परीक्षण भइरहेको बताउनुभयो । उहाँले क्रिस्पर टेक्नोलोजी एमआईटीका वैज्ञानिकहरुको कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि प्रयोग गरिने पिसिआर परीक्षण गर्नका लागि बनाएको भन्दै यसलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै जनशक्तिलाई प्रयोग गरेर यस प्रविधिबारे परीक्षण गरिरहेको भन्दै महतले यो प्रविधि निकै सस्तो र विश्वसनीय रहेकाले नेपालका लागि निकै उपयोगी हुने दावी गर्नुभयो ।
महतका अनुसार १० मिनेटमा ९० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । हालसम्म ३ सय ६० जनाको कोरोना परीक्षण क्रिस्पर प्रविधिबाट गरिएको र त्यो ९८ दशमलव ३३ प्रतिशतसम्म सफल भएको महतले बताउनुभयो ।