विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख

एजेन्सी

माघ २, २०७७ शुक्रबार
एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप १४ हजार ६ सय ६३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २० लाख १ हजार २ सय ७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ३ प्रतिशत हो । हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु भएकामध्ये अमेरिकामा मात्रै सबैभन्दा धेरै ३ लाख ९७ हजार ९ सय २० जना रहेका छन् । यस्तै अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वल्र्ड मिटरको तथ्याङ्क अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ७ हजार १ सय ६० पुगेको छ । यस्तै भारत विश्वको तेस्रो मुलुक हो जहाँ कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढीको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार ९ सय ५४ पुगेको छ । पछिल्लो समय ब्राजिल, इटली, स्पेन लगायतका मुलुकमा पनि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
हालसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ८६ हजार नाघेको छ भने इटलीमा ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै कोरोनाबाट अत्यधिक प्रभावित मुलुकहरू मेक्सिकोमा १ लाख ३६ हजार ९ सय १७, फ्रान्समा ६९ हजार ३ सय १३, स्पेनमा ५३ हजार ७९, इरानमा ५६ हजार ५ सय ३८, अर्जेन्टिनामा ४५ हजार १ सय २५, कोलम्बियामा ४७ हजार ४ सय ९१ र रुसमा ६३ हजार ९ सय ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस