२०७७ माघ २, शुक्रबार
कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) सहितका नेताहरुको ललितपुरबाट गिरफ्तारी गरिएको विषयमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले भत्र्सना र विरोध जनाएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जननेता बास्तोलाको गिरफ्तारीको विरोध गरेका हुन । उनले राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका सबै जननेताहरुलाई यथासिघ्र बिना सर्त रिहा गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष ढकालले प्रदेश पार्टीको तर्फबाट जारी गरेको विज्ञप्तीमा वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाले जनताको पक्षमा बोल्ने, काम गर्ने र जनन्यायीक व्यवस्थाको आवाज उठाउने राजनीतिक शक्तिमाथि दमन गरिरहेको बताइएको छ । उनले राज्यलाई सचेततापूर्वक शान्तिपूर्ण वातावरण बनाउन र राजनीतिक मुद्दालाई राजनीतिक ढंगले हल गर्ने संस्कार विकास गर्न आग्रह समेत गरेका छन ।विप्लव नेकपाले गिरफ्तारीको विरोधमा भोलि माघ ३ गतेदेखि १० गतेसम्मका विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।
विप्लव नेकपाका नेता बास्तोला लगाएत सबैलाई अविलम्ब रिहा गर !
प्रेस विज्ञप्ती
वर्तामान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र सरकारले जनताको न्यायपूर्ण आवाजमाथि दमन गर्ने र राजनीतिक शक्ति र नेता, कार्यकर्ताहरुलाई आतंकित बनाउने काम गरिरहेको छ । जनताले गरेका विभिन्न संघर्षहरु, महान जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा हाम्रो पार्टी अघि बढिरहेको विषय सर्ववितितै छ । यसै सन्दर्भमा जनताको पक्षमा सर्घषरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित उक्त पार्टीका युवा नेताहरु प्रकाश, विवेक, विश्वाश लगाएतलाई यहि पुष २९ गते प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको विषयमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ । जननेताहरुको गिरफ्तारीको हामी भत्र्सना र विरोध जनाउँन चाहन्छौं ।
हाम्रो पार्टीले विप्लव नेकपालाई शान्तिपूर्ण सडक विद्रोहको लाईमा आएर राजनीतिक गतिविधिमा जोडिन आग्रह गर्दै आएको छ । साथै विप्लव नेकपामाथि गैह्र न्यायीक ढंगले लगाइएको प्रतिबन्ध हटाएर राजनीतिक व्यवहार गर्न सरकार समक्ष माग समेत गदै आएको छ । नेकपाका नेता कमरेड कञ्चन जनन्यायीक व्यवस्थाको पक्षमा विगतदेखि संघर्षरत हुनुहुन्छ, उहाँसँग जनयुद्धकालमा भएको सहकार्यका आधारमा पनि उहाँ देश र जनताको हितमा अगाडी बढिरहनुभएको विश्वास गर्न सकिन्छ । जनताको पक्षमा बोल्ने, संघर्षगर्नेहरुलाई जेलमा हाल्ने र जनविरोधी, राष्ट्रविरोधी, दलाल, तस्कर, बलात्कारी र अपराधीहरु खुलेयाम हिड्न पाउने अवस्थाले वर्तमान सरकार चरम फासिवादी बाटोमा हिड्न खोजेको संकेत गर्दछ, हामी सरकारलाई सचेततापूर्वक आग्रह गर्दछौं ।
राज्यलाई शान्तिको पक्षमा, राजनीतिक मागहरुलाई राजनीतिक ढंगले हल गर्ने सहज वातावरण बनाउन गम्भिरतापूर्वक अनुरोध गर्न चाहन्छौं । साथै कमरेड कञ्चन लगाएत राजनीतिक गतिविधिमा जोडिएकै कारण गिरफ्तार गरिएका सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई विना सर्त, यथासिघ्र रिहा गर्न जोडदार माग समेत गर्दछौं ।
मितिः २०७७ माघ २ गते ।
……..
रंगनाथ ढकाल
उपाध्यक्ष तथा प्रदेश इन्चार्ज
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति