इन्डोनेसियामा शक्तिशाली भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

२०७७ माघ,३ शनिबार
एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुमा हिजो गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । बीबीसीका अनुसार भूकम्पमा परि सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा हिजो बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण ममाजुमा रहेको ५ तले मित्र मनकारा अस्पतालको भवन भत्कँदा ८ जनाको मृत्यु भएको तथा ६० जनाको उद्दार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१८ मा सुलावेसीमैं गएको भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएका छन ।
पछिल्लो २४ घण्टामा मात्रै इन्डोनेसियामा ४ दशमलव ७ म्याग्निच्युडदेखि ५ दशमवल १ म्याग्निच्युडको ५ वटा भूकम्प गएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु सुलावेसीस्थित शहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ । केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर मात्र मुनि रहेको छ ।