प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफको जित

२०७७ माघ,३ शनिबार
काठमाण्डौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आज प्रदेश १ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।
प्रदेश १ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोड्नुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अल आउट हुँदै २ सय ४३ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । जितसँगै समूह ए मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।