कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क अर्थमन्त्री पौडेलको भनाइ

फिल्को मिसन

२०७७ माघ,३ शनिबार
काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताउनुभयो ।
जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए । विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ थियो ।
कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गरे ।
मन्त्री पौडेलले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रवन्ध गरेको भन्दै यो विषय अदालतमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस