जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

फिल्को मिसन

२०७७ माघ,४ आइतबार
सुर्खेत । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ ९क०मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो।

आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएका छन्। जग्गा कित्ताकाटदेखि नामसारी गराउने कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारवाही गर्नुपर्ने उनको माग छ।

“जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात् यही पुस २९ गते जग्गाको नक्सापास निकाल्ने क्रममा कित्ता नं नभेटिएपछि थाहा पाएँ”, रावतले जाहेरीमा लेखेका छन्, “नापी कार्यालयमा कित्ता नं भिडाउँदा नभेटिएपछि छ कित्तामा बाँडिएको रहेछ।” जग्गा किन्न ग्राहक आएपछि आफू ट्रेस नक्सा निकाल्न नापी कार्यालय जाँदा जग्गाको कित्ता नं नभेटिएपछि जग्गा गैरकानूनी तरिकाले खरिद बिक्री भएको थाहा पाएको रावतले बताए।

 

प्रतिक्रिया दिनुहोस