विश्व रेकर्ड कायम दस नेपाली सफल आरोही

फिल्को मिसन

२०७७ माघ, ४ आइतबार
काठमाण्डौ । १० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन ।
जाडो मौसममा ८ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि यसअघि कसैले पनि जाडो मौसममा माउण्ट के२ अरोहण गर्न सकेको थिएनन् । सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनुभएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।
सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आठ हजार छ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस