पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन ४ र ५ गते

फिल्को मिसन

२०७७ माघ,५सोमबार
काठमाण्डौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । अस्ति र हिजो सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय पनि गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासंघले निर्वाचन प्रक्रिया सम्पन्न गर्न १ जना वरिष्ठ पत्रकारको संयोजकत्वमा ४ जना अधिवक्ता र समावेशी क्षेत्रका पत्रकारको समेत प्रतिनिधित्व हुने गरी ७ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।
महासंघले अनुमोदन भएका नयाँ सदस्यको विवरण माघ १५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई आग्रह गरेको छ । पत्रकार महासंघले प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनीतिक घटनाक्रमबाट संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको संविधान, नागरिक अधिकार एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिने महासंघ सजग र थप क्रियाशील रहने प्रतिवद्धता जनाएको छ ।
संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पक्षमा दृढतापूर्वक उभिने निर्णय पनि गरेको महासचिव विष्टले जानकारी दिनुभयो । महासंघले श्रमजीवी पत्रकारलाई बिना नियुक्ति पत्र काममा लगाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिने, नियमित पारिश्रमिक भुक्तान नगर्ने, पारिश्रमिक कटौती गर्ने, बेतलवी विदामा राख्ने र गैरकानुनी तबरले निस्काशन गर्ने गतिविधि नरोकिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस