निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय हुम्ला

फिल्को मिसन

२०७७माघ,९ शुक्रबार
हुम्ला।सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुटेको छ ।
यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीकोे अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड हुम्लाको ७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दलसंग अन्तक्रिया गरेको जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले बताए ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामावली अद्यावधिक (दाबीविरोध समेत) विषयसँग सम्बन्धित रहेर जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ । आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणाअनुसार जिल्ला निर्वाचन कार्यालय हुम्ला पनि आवश्यक तयारीमा जुटेको छ ।
निर्वाचन कार्यालय हुम्लाले ७ वटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा सहायक नामदर्ता अधिकारीले आवश्यक छानबिन गरी नाम हटाउनका लागि प्रमुख नामदर्ता अधिकारीसमक्ष पेश गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले निर्वाचनमा आम मतदातालाई निर्वाचन स्थल वा केन्द्रसम्म जान सहज हुने किसिमको सुझावलाई ग्रहण गर्ने भन्दै निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गिरीले राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदानस्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने बताउनुभयो ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा आठवटा, खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चङ्खेली गाउँपालिका सातवटा अदानचुलीमा छ वटा र ताजाँकोट गाउँपालिकामा छ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
जिल्लामा २८ हजार ७५४ मतदाता रहेका छन् । जिल्लाका सात गाउँपालिकाका ४४ वटा वडामा रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र छन् । हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।
आजै भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यबाह अध्यक्ष कमल बोहरा, नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारी, जनता समाज पार्टी नेपालका केन्द्रिय सदस्य विरजन शाही, राप्रपाका निर्वाचन ख का अध्यक्ष नैनासिंह रावत, नयाँ भैरवी दल गुल्मका सेनानी प्रजाजु बस्नेृत लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस