हुम्लाका दश प्रादेशिक कार्यालयको खर्च १ अर्बभन्दा धेरै खर्च

२०७७ माघ,११आइतबार
हुम्ला । हुम्लामा कर्नाली प्रदेश अन्तर्गतका १० कार्यालयहरुले आ।व। २०७६।०७७ मा एक अर्ब १६ करोडभन्दा धेरै रकम खर्च गरेका छन् । यो रकममा सबभन्दा थोरै रकम खर्च गर्ने जिल्ला समन्वय समितिको कार्यालय रहेको छ भने सबभन्दा धेरै खर्च गर्ने कृषि विकास कार्यालय हुम्ला रहेको छ । यो सबै रकमको ८० प्रतिशत खर्च विशेषतः विभिन्न प्रकारका भौतिक पूर्वाधारको क्षेत्रमा भएको छ ।
हुम्ला जिल्लामा कर्नाली प्रदेशस्तरीय कार्यालयहरुमा प्रदेश लेखा इकाई कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पुश विज्ञ केन्द्र, पूर्वाधार विकास कार्यालय, खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालय रहेका छन् ।
यी दश प्रादेशिक कार्यालयहरुमा कर्नाली प्रदेश सरकार सुर्खेतबाट आ।व। २०७६।०७७ मा चालुतर्फ कुल बजेट ६४ करोड २२ लाख ६३ हजार प्राप्त भएको छ । यसमा ४७ करोड २२ लाख ६४ हजार ४१८ रकम खर्च भएको छ । यो हिसाबले चालु बजेटतर्फ ७३।५८ प्रतिशत खर्च भएको देखिन्छ ।
यसै गरी पूँजीगततर्फ हुम्लाका १० प्रादेशिक कार्यालयहरुमा १ अर्ब १५ करोड ९२ लाख ४२ हजार प्राप्त भएको छ । यसमा ६९ करोड ५ लाख २७ हजार २० रुपैँया खर्च भएकोे कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका कोष नियन्त्रक नरेश प्रसाद भट्टले जानकारी दिएका छन् । उलने भने यो कूल पूँजीगत बजेटको ५९।५७ प्रतिशत हो ।
हुम्लाका यी १० प्रादेशिक कार्यालयहरूले चालुतर्फ कुल बजेट ६४ करोड १८ लाख ६३ हजार र पूँजीगतर्फ कुल बजेट एक अर्ब १५ करोड ९२ लाख रहेको छ । यी दुबै शिर्षकको कुल बजेट एक अर्ब ८० करोड ११ लाख ५ हजार देखिन्छ । यी दुबै शिर्षकको आ।व। २०७६र०७७ को कुल खर्च एक अर्ब १६ करोड २७ लाख ९१ हजार २३९ भएको आँकडा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लामा रहेको छ । दुबै शिर्षकको कुल खर्च प्रतिशत ६४।५६ रहेको छ ।
हुम्लामा स्थापित भएका यी दश प्रादेशिक कार्यालयहरूले हुम्लाका सात स्थानीय तहका ४४ वडाहरूमा यति धेरै रकम खर्च भए पनि स्थानीयहरूको भनाईलाई आधार मान्ने हो भने वालुवामा पानी खन्याए सरह भएको देखिन्छ । यसका लागि समयमै विकासे खर्चको लेखाजोखा हुन आवश्यक देखिन्छ ।कनकपत्र अनलाइन बाट सभार